Select Language:
 
डिडिसी जानकारी » संस्थानको गतिबिधी
 

संस्थानको गतिविधि

संस्थान अन्तर्गत संचालित आयोजनाहरुले पूर्वमा मेचीको पांचथरदेखि पश्चिममा महाकालीको कन्चनपुरसम्म गरी जम्मा ३४ जिल्लाहरुवाट दूध संकलन गरिरहेका छन् । दुग्ध वितरण आयोजनाहरुको संकलन क्षेत्रहरुमा दूध संकलन कार्य संगठनात्मक तरिकावाट कृषकहरु स्वयंद्घारा संचालित दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मार्फत भइरहेको छ । याक चीज उत्पादन केन्द्र अन्तर्गतका संकलन क्षेत्रहरुमा भने दूध उत्पादक कृषकहरुवाट सोझै याक गाईको दूध खरिद गर्ने गरिएको छ । 

काठमाडौं वाहिरका हेटौडा, लुम्विनी तथा नेपालगन्ज दुग्ध वितरण आयोजनाहरुले संकलन गरेको दूध मध्ये स्थानिय विक्री तथा दुग्ध पदार्थ उत्पादन भन्दा बढी हुने परिमाण दूध काठमाडौं दुग्ध वितरण आयोजनामा पठाउने गरी आएका छन् । यसै गरी विराटनगर दुग्ध वितरण आयोजनाले संकलन गरेको कूल दूध मध्ये स्थानिय विक्रीवाट बढी हुने दूधवाट धुलो दूध वनाउने गर्दछ, जुन सुख्खा सिजनमा काठमाडौं ल्याई बजारको माग पुरा गर्नको निमित्त तरल दूध बनाउने कार्यमा काठमाडौं दुग्ध वितरण आयोजनाले प्रयोग गर्दछ ।  करिव २ वर्ष अगाडी देखि संचालनमा आएको ढल्केवर स्थित जनकपुर दुग्ध वितरण आयोजनाले स्थानिय स्तरमा माग हुने दही आपूर्तिको लागि Yoghurt Based Milk Processing Plant को रुपमा दही लगायत दूध र अन्य दुग्ध पदार्थहरु उत्पादन गर्दछ भने हालै संचालित धनगढी दुग्ध वितरण आयोजनाको दूध नेपालगन्ज ल्याई दुग्ध पदार्थ उत्पादनमा प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । संकलन गरिएको दूध प्रशोधन कारखानासम्म ल्याउंदा दूधको गुणस्तर ह्रास नहोस् भन्ने ध्येय अनुरुप संस्थान अन्तर्गतका आयोजनाहरुले विभिन्न दूध चिस्याउने केन्द्रहरुमा दूध चिसो बनाई टैंकर मार्फत ढुवानी गरी आयोजनामा ल्याउने व्यवस्था गरेको छ । यस वाहेक पनि सहकारी संस्थाहरुवाट संचालित दूध चिस्याउने केन्द्रहरुवाट पनि चिसो दूध उठाउने व्यवस्था मिलाई संकलन कार्यमा व्यापकता ल्याइएको छ ।

 

दुग्ध विकास संस्थान अन्तर्गत अधिराज्यका विभिन्न ३४ जिल्लाहरु कार्यक्षेत्र भित्र संचालित शहरी क्षेत्रहरुमा एउटा धूलो दूध कारखाना सहितको ८ वटा दूध प्रशोधन कारखानाहरु, त्यस अन्तर्गत ६३ वटा चिलिङ्ग सेन्टर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा अवस्थित ७ वटा याक चीज उत्पादन केन्द्रहरु,  मध्य पहाडी क्षेत्रमा अवस्थित ५ वटा कन्चन चीज उत्पादन केन्द्रहरु, एक गोटा रसवरी, पनीर उत्पादन केन्द्र र २ गोटा मोजरेल्ला चीज उत्पादन केन्द्रहरु संचालनमा रहेका छन् । हाल संस्थानले प्रतिदिन दुग्ध उत्पादक कृषकहरुवाट उत्पादित लगभग २,००,००० लिटर दूध करिव ८०० दुग्ध उत्पादक सहकारी मार्फत खरिद गरी प्रशोधित दूध एवं दुग्ध पदार्थहरु उत्पादन गर्दछ । हाम्रो जस्तो कृषि प्रधान मुलुकमा जनसंख्या वृद्धि, बढ्दो शहरीकरण तथा पौष्टिक खाद्य पदार्थको बढ्दो सचेतताले गर्दा दूध जस्तो महत्वपूर्ण पौष्टिक खाद्यको माग दिन प्रतिदिन बढ्दै गएको छ भने बढ्दो दूधको मागलाई आपूर्ति गर्न दुग्ध विकास संस्थानले ग्रामिण क्षेत्रमा संकलन क्षेत्रको विस्तार गर्दै कृषकहरुवाट उत्पादित दूध संकलन गर्न क्षमताले सक्दो प्रयास गर्दै आएको छ । संस्थानले हाल करिव १,००,००० कृषक परिवारलाई पशुपालन व्यवसाय तथा दुग्ध उत्पादनको अवसर प्रदान गरेको छ भने करिव १०,००० व्यक्तिहरुलाई दूध संकलन, सहकारी व्यवस्थापन, दूध ढुवानी तथा दूध तथा दुग्ध पदार्थ विक्री वितरण मार्फत प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।
 

Related Posts

परिचय र उदेश्य

» दुग्ध विकास संस्थानको परिचय

संस्थानको गतिबिधी

संस्थान संरचना

» संरचना

डिडिसी कर्मचारी

» DDC staff